काठमाडौं । नेपाली समाजमा सुत्केरीलाई तोरीको तेल लगाएर मसाज गरिदिने चलन छ । सुत्केरी अवस्थामा तेल लगाउँदा महिलाको शरीर बलियो हुने र स्वास्थ्य समस्या कम हुने बताइन्छ ।
नेपाललगायत दक्षिण एसियामा यस्तो चलन रहे पनि पाश्चात्य मुलुकमा भने शिशु र सुत्केरीलाई तेल लगाउने गरिंदैन ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जोत्सना शर्मा तिवारी सुत्केरी हुँदा तेल अनिवार्य लगाउनुपर्छ भनेर चिकित्सकले नसुझाउने बताउँछिन् । ‘सुत्केरी हुँदा अनिवार्य तेल लगाएर मालिस गर्नुपर्छ भनेर चिकित्सकले सुझाउँदैनन् । त्यसैले तेल नलगाउँदा भविष्यमा शरीर कमजोर हुन्छ भन्नु गलत बुझाइ हो । यद्यपि तेल लगाएमा यसले बेफाइदा भने गर्दैन,’ उनी भन्छिन् ।
डेलिभरीपछि मालिस कहिले गर्ने ?
डा. शर्माका अनुसार सिजेरियन होस् वा सामान्य डेलिभरी, पूर्ण रुपमा महिलालाई निको हुन ६ देखि आठ हप्ता लाग्छ । ‘सामान्य प्रक्रियाबाट सुत्केरी भएकी महिलाले अस्पतालको डिस्चार्जपछि तेल लगाउन सकिन्छ । तर यदि सिजेरियन डेलिभरी भएको छ भने घाउ पूर्ण रूपमा निको भएपछि मात्र लगाउन उपयुक्त हुन्छ,’ उनी भन्छिन् ।
के छन् फाइदा ?
डा. शर्माका अनुसार प्रसव पीडाले शरीरलाई थकाउने र कमजोर बनाइरहेको हुन्छ । यस्तोमा तेलले मालिस गर्दा शरीरमा हुने ढाड दुखाइ र जोर्नी दुखाइबाट राहत मिल्छ । जब बच्चा गर्भमा हुन्छ, शरीरका धेरै भाग तन्किएको हुन्छ, जसलाई मसाज गरेर मात्र बिस्तारै कम गर्न सकिन्छ ।
त्यति मात्र होइन, शरीरलाई दिनहुँ मालिस गर्नाले रक्त सञ्चार राम्रोसँग हुन पाउFछ । र, शरीरबाट अनावश्यक तरल पदार्थ र विषाक्त पदार्थहरू हटाउँछ । तेल लगाउँदा शरीर हल्का हुनेदेखि तनावलाई पनि कम गर्न मद्दत गर्छ ।
के कुरामा ध्यान दिने ?
-मालिस गर्न नरिवलको तेल र तोरीको तेल मात्र प्रयोग गर्ने ।
-तेल लगाउँदा हल्का मसाज मात्र गर्ने ।
-तेल लगाएपछि २४ घण्टापछि नुहाउने, किनभने यो समयमा गर्मी गर्ने खानेकुरा बढी खाने, पसिना र तेलको मिश्रणले शरीर छिटो फोहोर हुने र घाउ पनि पाक्ने सम्भावना हुन्छ ।
-तेल लगाएपछि त्यसमाथि तेल नथप्ने ।
-तेल लगाउँदा सधैं तलको भागदेखि माथितर्फ लगाउनुपर्छ । ताकि रक्त प्रवाह माथिल्लो दिशामा पनि राम्रो हुन सकोस् ।
-तेल लगाउँदा एक्जिमा वा एलर्जी देखिएमा मालिस गर्नु हुँदैन ।