गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु

२६ साउन, धनगढी । धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ ।

धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको हिजो बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएकी थिइन ।

औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो। मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् ।

घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।