काठमाडौं । संसदीय समितिको भागबन्डा टुंगिएको छ । आइतबार साँझ बसेको प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएको हो ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेसले ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एसले १, जनता समाजवादी पार्टीले १ र जनमत पार्टीले १ समिति पाएकाे छ ।
जसमा कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समितिको नेतृत्व गर्नेछ ।
एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व पाएकाे छ ।
नेकपा माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व गर्ने छ । जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको नेतृत्व गर्नेछ भने नेकपा एसले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमतले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएकाे छ ।
संसदीय समितिहरूको सभापति चयनबारे भने आज मध्यान्ह १२ बजे बस्ने सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षीबीचको बैठकले टुंगो लगाउनेछ । प्रतिनिधिसभामा चौथो र पाँचौँ ठूलो दलका रूपमा रहेका रास्वपा र राप्रपाले भने समितिको नेतृत्व नपाउने भएको छ ।