काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो । यससँगै अब उक्त सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सुन तस्करी प्रकरणको बृहत अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीलाई जिम्मा दिने निर्णय भएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार हालसम्म खुलेका प्रमाणले संगठित?पमा गरिएको अन्तरदेशीय अपराध देखिएको छ । त्यही भएर बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको हो ।
उक्त सुनकाण्डमा पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गर्ने भएको छ ।
विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी र राजस्वका उच्च अधिकारीसँग छलफल गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि विभागले आइतबार सम्पूर्ण फाइलह? प्रहरीलाई बुझाएको हो ।
प्रहरीले विशेष ब्युरो, साइबर ब्युरो र अन्य युनिटका विशेष टोलीलाई पनि अनुसन्धानमा खटाइने तयारी गरेको छ । हङकङबाट गत असार २९ मा क्याथे प्यासिफिकको जहाजमा स्कुटरका ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएका सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएको र त्यसलगत्तै विभाग र सशस्त्र प्रहरी बलको विशेष टोलीले सिनामंगल सडकबाट झण्डै सय किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता खुलेपछि अनुसन्धान जटिल बन्दै गएको थियो ।
अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने माग उठेपनि विभाग आफैंले निष्कर्षमा र्पुयाउने बताउँदै आएको थियो । यो प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । उक्त सुन तस्करीको मूल गिरोह भने अझै अनुसन्धानको दायराबाहिर छ ।