Breaking News

भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले आह्वान

१३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहान राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् । भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

उनले भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘जो(जो दोषी वा अपराधी छन्, तिनलाई कारबाही गरिन्छ नै,’ उनले भने । शहीद तथा बेपत्ता योद्धाले ऐतिहासिक राजनीतिक परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको भन्दै मन्त्री श्रेष्ठले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्ने बताए ।

सुशासन कायम गर्दै आर्थिक-सामाजिक समृद्धि हासिल गरेमा मात्र नै शहीदहरूप्रति सच्चा सम्मान तथा श्रद्धा हुने उनले बताए । उनले जगडोलस्थित शहीद पार्कका लागि सरकारले आवश्यक सहयोग पर्ने प्रतिबद्धता पनि जनाए ।

‘यो शहीद पार्क देशमा कसरी राजनीतिक परिवर्तन भयो भनेर शिक्षा लिने ठाउँ हो,’ उनले भने, ‘छुटेका सबै शहीदलाई, निजामती सेवा एवम् सुरक्षा क्षेत्रका शहीदलाई, बेपत्ता बनाइएका सबै योद्धालाई समेटेर स्तम्भ निर्माण गर्न सबै निकायको सहयोग जरुरी छ ।