काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज फैसला सुनाउने भएको छ ।
बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपनि फैसला लेख्न समय लागेपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतबाट आज आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापालाई असंवैधानिकरूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा असार २२ गते रिट निवेदन दर्ता गराएका थिए ।
सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
रिटमा सरकार गठन असंवैधानिक भएको दाबीसहित थापालाई मुख्यमन्त्री नियुक्तिको निर्णय बदर गर्न माग गरिएको छ । रिट निवेदनमा दाबी गरिएअनुसार सर्वोच्चले सरकार गठनको प्रक्रिया बदर हुने फैसला सुनाएमा हाल रहेको गठबन्धनको सरकार ढल्ने छ । मुख्यमन्त्री थापाले पद गुमाउने छन् । त्यसपछि प्रदेश प्रमुखले सरकार गठनका लागि नयाँ प्रक्रिया सुरु गर्नु पर्नेछ ।