काठमाडौं । नेपाली कांग्रेसले सामाजिक संजालमा पार्टी र नेतृत्व विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने कार्यकर्ता पदमुक्त गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको अन्तिममा सभापति शेरबहादुर देउवाले सामाजिक संजालमा पार्टी र नेतृत्वविरुद्ध बोल्ने लेख्नेलाई कारबाही गर्ने प्रस्ताव निर्णयमा माइन्युट गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई दिर्नेशन दिएका हुन् ।
यसअघि बैठकमा प्रवक्ता डा.प्रकाश शरण महत र केन्द्रीय सदस्य राजीव ढुंगानाले सामाजिक संजालमा नेता र नेतृत्वविरुद्ध जथाभावी लेख्ने, आरोप लगाउने तथा कांग्रेसका नाममा अनधिकृत अकाउन्ट चलाएर निश्चित नेतालाई आरोपित गर्नेमाथि कारबाही हुनुपर्ने बताएका थिए ।
महामन्त्री शर्माको प्रस्तावमा सो विषय नसमेटिएपछि बैठक समापनका बेला महतले पुनः देउवाको ध्यानाकर्षण गराएपछि सो निर्णय हुने व्यहोरा सभापतिले सुनाएका थिए ।
बैठकका निर्णयसम्बन्धी प्रस्तावहरु महामन्त्री शर्माले सार्जजनिक गरिरहँदा संस्थापन पक्षले असन्तुष्टि व्यक्त थिए । देउवानिकट पार्टी प्रवक्ता महतले महामन्त्रीले कुनै प्रस्ताव छुटाएको र कुनै आफूखुशी थपेको आरोप लगाएका छन् ।
डा. महतका अनुसार सामाजिक सञ्जालमा पार्टीको खिलाफ अभिव्यक्ति दिने तथा कांग्रेसका नाममा वेब पेजहरु खोलेर जथाभावी लेख्नेहरुमाथि एक्सन लिने प्रस्ताव राखिएको थियो । तर, महामन्त्रीले उक्त निर्णय सुनाउन छुटाएको भन्दै डा. महतले आपत्ति जनाएका थिए ।
उनले भने, ‘प्रस्तावमा राखिएको विषय अहिले आएन, कसरी छुट्यो ? मिनेन्द्रजी कता जानु भो, मुख्य कुरै छुट्यो । प्रस्तावमै भएको कुरा किन पढिएन ?’ डा. महतको भनाइमा समर्थन जनाउँदै देउवाले अन्त्यमा उक्त प्रस्तावको निर्णय सुनाएका हुन् ।