काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका विभिन्न स्थानका ३७ शाखा कार्यालयहरू बन्द हुने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जपश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने भएको हो ।
बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साविकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ । त्यस्तै, साविकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साविकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ ।
शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।
दुवै बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गरी नेपाल इन्भेटमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरेका हुन् ।