काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्कर गिरोहको बालुवाटारस्थित एक गोदाममा छापा मारेको छ ।
सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा विभागले बुधबार साँझ छापा मारेको हो । त्यसक्रममा उक्त गोदाममा सुन गाल्ने मेसिन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
तस्करीमा संलग्न व्यक्तिको गोदामबाटै सुन गाल्ने मेसिन भेटिएपछि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । विभागले बुधबारै रेडी ट्रेडको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो । त्यहाँ ‘ब्रेक सु’ लेखिएको ६६ वटा काटुन फेला परेको थियो ।
यसअघि गत ३ साउनमा विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन बरामद गरेर विभागले अनुसन्धान गरिरहेको छ ।
हालसम्म यस प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको विभिागले जनाएको छ ।