Breaking News

नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलायो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ।

एक साता बसेको पार्टी सचिवालय बैठकको निर्णयलाई मूर्तरूप दिन अझै छलफल आवश्यक रहेको र निर्णयको कार्यान्वयनका लागि सहज होस् भनेर सबै कमिटीको बैठक बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार साउन १५ गते सचिवालय बैठक बस्ने छ। त्यसले स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ। उपाध्यक्ष पाण्डेकाअनुसार साउन १६ र १७ गते स्थायी कमिटीको बैठक बोलाइएको छ। त्यस्तै साउन १८ र १९ गते पोलिट्ब्युरो बैठक आह्वान भएको छ। यसैगरी साउन २० र २१ गते केन्द्रीय कमिटीको बैठक तय भएको छ।

पार्टी गठनको २३ महिना बितिसक्दा पनि पार्टी आधारभूत तहसम्म स्थापित हुन नसकेकोमा बैठकमा चिन्ता प्रकट भएको सदस्यले बताएका छन्। मत ट्रान्सफर नहुँदा र गठबन्धन घटक दल इमान्दार नहुँदा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न बञ्चित रहेको निष्कर्षं पनि बैठकमा निकालिएको थियो।

अगामी निर्वाचनमा एक्लै चुनाव लड्न सक्नेगरी पार्टीको संरचना र सामर्थ्य विस्तार हुनुपर्ने निचोड निकाल्दै बैठकले विशेष अभियानको प्रस्ताव गरेको छ। यद्यपि, त्यसको कार्ययोजना भने बन्न बाँकी रहेको छ ।