Breaking News

नयाँ पार्टीहरुलाई खहरे खोलाका रुपमा लियो भने कांग्रेस नै सकिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीहरुलाई खहरे खोलाका रुपमा लियो भने कांग्रेस नै सकिने बताएका छन् । शनिबार नेपाली कांग्रेस पोखराले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

यसअघि शनिबार रामेछापमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ राजनीतिक दलहरूलाई खहरेको संज्ञा दिएका थिए । ४१औँ बीपी स्मृति दिवसका अवसरमा रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख सचेतक लेखकले भनेका थिए, ‘कांग्रेस मंसिरमा पनि उत्तिकै बग्ने नदीसमान हो, अरु खहरे हुन् मंसिरमा हुँदैनन् । नयाँ पार्टी उदाउँदैमा कांग्रेसीले आत्तिनु पर्दैन ।’

तर, त्यसको केही घण्टा जवित्दै महामन्त्री थापाले थापाले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताएका हुन् । उनले कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने दुबै प्रवृत्ति देखिएको बताउँदै भने, ‘यी दुबै प्रवृत्ति गलत हो । हामी चाहिनेभन्दा बढी आत्तिएको हो कि भन्ने लागेको छ । यति धेरै आत्तिहाल्नुपर्ने कारण केही पनि छैन । त्यसैले नआत्तिऔं । सबैकुरा बिग्रियो, भत्कियो, सक्कियो भनेर आत्तिनुपर्ने केही छैन ।’

महामन्त्री थापाले थपे, ‘सँगसँगै खहरे हुन्, यी नयाँ पार्टीहरु केही पनि होइन, हामीसँग जति नेता कोहीसँग छैन, हामीसँग जस्तो नाम पनि कोहीसँग छैन, हामी हिजो पनि ठूलो थियौं, हामीले मात्र खाएको हो भन्यौं भने हामी सकिन्छौं ।’

कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेपनि केही कमजोरीसमेत रहेको उनले बताए । उनले ती कमजोरीलाई सच्याउनैपर्ने बेला आएको बताउँदै भने, ‘पार्टी सञ्चालनको तरिका हामीले बदल्नैपर्छ । बदलिएको कांग्रेसचाहिँ बलियो कांग्रेस हुन्छ । कांग्रेस कसैले बदल्नुपर्दैन भन्यो भने त्यो पार्टीको हितमा छैन । कांग्रेस बदलौं, बदलेको कांग्रेसले जनताको विश्वास आर्जन गरौं ।’

महामन्त्री थापाले चुनावमा जाने बेला उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसभित्र ठूलो समस्या रहेको बताए । उनले अब पार्टीभित्रै निर्वाचनको पद्धतिबाट उम्मेदवार छनोट गर्नुपर्ने धारणा राख्दै भने, ‘अहिले संसारभर जहाँ पनि चुनाव हुँदा नयाँ उमेर समूहका व्यक्ति निर्वाचित भएका छन् । कांग्रेसका नेता कार्यकर्ताले यो कुरा ख्याल गर्नुपर्छ ।’

महामन्त्री गगन थापा