Breaking News

२५ करोड रूपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा एक व्यापारीलाई झापाबाट प्रहरीले पक्राउ

झापाको गौरादह बजारमा सुनचाँदीका गरगहनाको कारोबार गर्ने एक व्यवसायीलाई २५ करोड रूपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

विभिन्न ठाउँका ४ सय ६६ जना व्यक्तिबाट २४ करोड ६५ लाख रूपैयाँ हिनामिना गरेर फरार रहेका व्यापारी सोम विश्वकर्मालाई काँकडभिट्टा प्रहरीले बिहीबार पक्राउ गरको हो। उनी तीन सातादेखि सम्पर्कविहीन रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाका अनुसार उनलाई भारत प्रवेश गर्ने नाकामा पक्राउ गरिएको हो।

विश्वकर्माले असार १५ गते ‘मेरो व्यवहार बिग्रियो, मलाई नखोज्नू’ भन्दै गौरादह नगरपालिका-१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा सन्देश पठाएका थिए।

गौरादहवासीको करोडौं रकम ठगी गरेर फरार भएका विश्वकर्मा तीन साता अवधिमा भारतको सिक्किम, दार्जिलिङ लगायत विभिन्न ठाउँ घुमेर फर्किएको प्रहरीले जनाएको छ।

विश्वकर्माविरूद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले ठगी मुद्दा दर्ता गरेको वडाध्यक्ष भण्डारीले बताए।