धनगढी । कैलालीमा जेलरले पैसा लिएर कैदीलाई भगाएका छन् । कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सेनाले पैसा लिएर कैदीलाई भगाएको रहस्य खुलेको हो ।
तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका गौरिगंगा नगरपालिका ९ का इश्वर पौडेलबाट मोटो रकम लिएर भगाएको कारागार स्रोतले बतायो । पछिल्लो समय जेलर तिमिल्सेना प्रति कैदीबन्दीनै असन्तुष्ट रहेका छन् ।
तिमिल्सेनाले मोटो रकम दिए तिमीहरूलाई जेलबाट भगाइदिने भन्दै आएको नाम नबताउने सर्तमा एक कैदीले बताए । ३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित पारस बम, राम सिराडी र इश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए । पक्राउ परेका मध्ये जेलर तिमिल्सेनाले पौडेलबाट पैसा लिएर भगाएका हुन् ।
यस विषयमा जेलर तिमिल्सेनालाई बुझ्दा उनले कैदी पौडेललाई छोडेको स्वीकार गरेका छन् । उनले आफूले पैसा नलिएको जिकिर गरे । उनले इश्वर पौडेल १५ ग्राम लागूऔषध खैरो हिरोइनसिहत पक्राउ परेको मुद्दामा सफाइ पाएको आधारमा छोडेको बताए ।
उनले ३४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेको मुद्दामा भने सफाई नपाएको पनि स्वीकार गरे । उनले पौडेलको एक सातादेखि खोजी भइरहेको बताएका छन् । जेलर तिमिल्सेना कारागार कैलाली आएदेखि कारागारको मर्यादा विपरीत कार्य गर्दै आएका छन् ।
उनले आफू कैलालीमा कमाउन आएको भन्दै कारागार भित्र लागूऔषध, मदिरा भित्र्याउने र कैदीबाट मोटो रकम लिएर भगाउने जस्ता कारागा, व्यवस्था विभागको मर्यादा विपरीत कार्य गर्दै आएका छन् ।