२७ असार, काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे थापाथलीस्थित नर्भिक हस्पिटलमा निधन भएको छ ।
प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए थिए।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेर उपचारर्थ रहेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।
अहिले हस्पिटलबाट पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लगिने तयारी हुँदै उनको पार्थिक शरीरलाई ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जिलीका लागि पार्टी कार्यालयमा राखिने र २ बजे पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने बुझिएको छ ।

