विस्तारवादी हस्तक्षेप, जनजीविका र सरकारी मौनता वाईसिएल नेपाल

३१ वैशाख, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण र देशमा जारी लकडाउनको मौकाछोपी भारतीय विस्तावादले नेपाली भूमिमाथी हस्तपेक्ष गर्ने तथा नेपाल सरकारको त्यसमा मौनता देखिएको भन्दै नेकपा (माओवादी केन्द्र) को युवा संगठन ‘युवा कम्युनिष्ट लिग’ (वाईसिएल) ले सरकारलाई चेतावनीपूर्ण विज्ञप्ती जारी गरेको छ ।

ओलि सरकारको असक्षमता र लाचारिपनका कारण देश र जनताले तमाम समस्या भोग्नुपरेको भन्दै हिजो वाईसिएलका कार्यवाहक अध्यक्ष प्रकाश दुमि राईले सरकारलाई सुझावसहित त्यस्तो विज्ञप्ती जारी गरेका हुन ।

उक्त विज्ञप्ती मार्फत वाईसिएलले विस्तारवादी भारतले हालै नेपालको भूमि लिपुलेकमा सडक सञ्चालन गरेर खुलेयाम हस्तक्षेप गर्दा पनि ओली सरकारले कूटनीतिक पहल गर्नुको साटो मौनता साँधेर भारतको दलाली गरेको आरोप समेत लगाएको छ ।

वाइसीएलले सीमा समस्या कूटनीतिक तवरले यथाशीघ्र हल गर्न सरकारलाई सुझाव पेश गरेको छ । साथै आफ्ना नागरिकको ज्यान बचाउन छाडी अर्काको भूमि डकैती गर्नपट्टी नलाग्न भारतीय विस्तारवादलाई चेतावनी समेत दिएको छ ।

सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको उल्लेख गर्दै वाईसिएलले चेतावनीपूर्ण शब्दमा भनेको छ–‘देश र जनताले संकट झेलिरहेको मौका छोपी विदेशी प्रभु रिझाउने, राजनीतिक षड्यन्त्र र अपराध गर्ने, कमिसनको धाउन्नमा लाग्ने कुकृत्य मात्रै हुने हो भने जनसंघर्षको आँधीबेहरीबाट खड्ग ओलीलाई यो देशमा अर्को नागार्जुन पनि भेटिन नसक्ने हालतबारे सचेत गराउन चाहन्छौं ।’
लकडाउनले थपुराको समस्या, रोकथाम तथा न्यूनिकरणको प्रभाव, राहत तथा रोजगारीको अवस्था र राष्ट्रियतामाथीको खतराबारे सरकारलाई ध्यानाकर्ण गराउँदै वाईसिएलले यथासिघ्र गम्भीरतापूर्वक समाधानमा ध्यान दिन आग्रह समेत गरेको छ ।

हामीसँगको कुराकानीमा वाईसिएलका केन्द्रीय सचिव कपिल सिजापतीले भने–लिपुलेकमा भारतीय रवैयाको विरोधमा युवा, विद्यार्थी तथा आम नागरिहरु आन्दोलीत बन्दै गएका छन्, ठाउँठाउँमा मोदी–ओलीको पुत्ला दहनको निम्ति युवाहरु सडकमा आउँने अवस्था आएको छ । तर सरकारले लकडाउन तोडेको देशभक्त नागरिहरुलाई जेलको डर देखाइरहेको छ, हामी सरकारको त्यस्तो प्रकारको नीतिको विरोध गर्दछौ ।

वाईसिएल सचिव सिजापतीले गिरफ्तार गरिएका देशभक्त नागरिकहरुको बिना सर्त रिहाईको माग गर्दै सरकार राष्ट्र र जनताप्रति जिम्मेवार नबनेमा देशभरका युवाहरु लकडाउन तोड्दै सडकमा आउन बाध्य हुने र त्यो अवस्थाको जिम्मेवार ओली सरकार स्वयम्ले हुने बताए ।

विज्ञप्तीको पूर्णपाठ :
विस्तारवादी हस्तक्षेप, जनजीविका र सरकारी मौनता बारे !
खड्ग ओली सरकारको असक्षमता र लाचारीको कारण हाल देश र जनताले भोग्न बाध्य हुनु परेका समस्या र संकटबारे युवा कम्युनिष्ट लिगको गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम वाइसीएल ओली सरकार समक्ष निम्न माग गर्दछ ।

१. विश्व कोरोना संकटसँग लडिरहेको मौका छोपी विस्तारवादी भारतले हालै हाम्रो सामरिक महत्वको भूमि लिपुलेकमा सडक संचालन गर्यो । उसले यसअघि नै यो भूमि आफ्नो राजनीतिक नक्सामा पारेको विषय र सडक खनिरहेको विषय सरकारलाई बोध भएपनि सरकार कूटनीतिक पहल गर्नुको साटो रहस्यमय मौनता साँधेर झन भारतको दलाली गर्न थाल्यो । सरकारको यही लाचारीको कारण भारतीय विस्तारवादको हस्तक्षेप रोकिएन । वाइसीएल यो सीमा समस्या कूटनीतिक तवरले यथाशीघ्र हल गर्न सरकारको ध्यानाकर्षण गर्दछ । साथै आफ्ना नागरिकको ज्यान बचाउन छाडी अर्काको भूमि डकैती गर्नपट्टी नलाग्न भारतीय विस्तारवादलाई चेतावनी गर्दछ ।

२. लकडाउन कोरोना विरुद्धको अभियानलाई सहज गर्ने माध्यम मात्रै हो । लकडाउनले मात्रै कोरोना निर्मूल हुँदैन । त्यसैले देशलाई लकडाउन गरेर फोहोरी संसदीय राजनीति र कमिसनको खेलमा नलागी कोरोना परीक्षणलाई तिव्रता दिएर देशलाई चाँडो लकडाउन मुक्त पार्नपट्टी लाग्न सरकारको ध्यान जाओस् ।

३. दैनिक मजदुरी गरेर गुजारा चलाइरहेका लाखौँ जनता लकडाउनको कारण चर्को संकटमा छन् । उनीहरुलाई दैनिक छाक टार्नै मुस्किल भइरहेको अवस्थालाई गम्भीर रुपमा लिएर अभिभावकको भूमिका निभाउन सरकार अग्रसर होस् ।

४. कोरोना महामारीको कारण विदेशमा मजदुरी गर्ने लाखौँ युवाहरु अहिले चरम संकटमा छन् । सबैलाई अवगत छ, लकडाउन अघिसम्म रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धान्ने यिनै युवाहरु हुन् । आज उनीहरु संकटमा पर्दा सरकार मूकदर्शक भएर बस्न मिल्दैन । त्यसैले विदेशमा संकट झेलिरहेका नेपाली श्रमिकको उचित व्यवस्थापनको लागि सरकार गम्भीर बनोस् ।

अन्यथा देश र जनताले संकट झेलिरहेको मौका छोपी विदेशी प्रभु रिझाउने, राजनीतिक षड्यन्त्र र अपराध गर्ने, कमिसनको धाउन्नमा लाग्ने कुकृत्य मात्रै हुने हो भने जनसंघर्षको आँधीबेहरीबाट खड्ग ओलीलाई यो देशमा अर्को नागार्जुन पनि भेटिन नसक्ने हालतबारे वाइसीएल सचेत गराउन चाहन्छ ।

भोकै–नांगै कैयौँ जनताले हप्तौँ पैदल हिडेर घर जान बाध्य हुनु परेको बदलामा, विदेश र सीमामा नेपाली श्रमिकले झेल्नु परेको संकटको बदलामा, स्वास्थ्य सामग्रीमा कमिसन, सांसद अपरहण र भ्रष्टाचारको बदलामा खड्ग ओली सरकारले यसै पनि चर्को मूल्य चुकाउनु त छ नै । फेरि देश र जनताको जिम्मा लिएर यति विदी कर्तव्य विमुख भई बस्ने हो भने निकै अकल्पनीय परिणामको सामना गर्नुपर्ने छ ।

क्रान्तिकारी अभिवादन सहित !

   युवा कम्युनिष्ट लिग (वाईसिएल
 केन्द्रीय समिति
   (कार्यवाहक अध्यक्ष)
प्रकाश दुमी राई
२०७७ बैशाख २८