Breaking News

नेपाल सरकारका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल सरकारका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्न तत्कालीन सचिवहरू दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध पनि प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको छ ।

त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना प्रकरणमा किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान गरिरहेको छ ।

जग्गा हडप्ने निर्णय प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिवदेखि मालपोत, नापी र गुठीका कर्मचारीसम्मको सेटिङमा भएको अनुसन्धानले देखाएको छ ।