निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला

२० असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो ।

त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए ।

गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो । गोली प्रहार भएलगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

दोषी ठहर भएको समूहमाथि चन्दा असुली र फिरौतीमा संलग्न भएको आरोप थियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको अनुसन्धानमा, उनीहरुले भाडाको व्यक्ति प्रयोग गरेर गौचनको हत्या गरेको खुलेको थियो ।