काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।
लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् ।