जरूरी छ वास्तु व्यवस्थापन

मानवीय जीवन स्वमनमा आधारित हुन्छ । जसको जस्तो मन छ त्यस्तै विचार हुन्छ र त्यसैले मानिसको जीवनलाई निर्देशित गरेको हुन्छ । अग्रजहरूले यही कुरामा धेरै अनुसन्धान गरेका र थुप्रै ग्रन्थ पनि तयार गरेका छन् । हाम्रा वरिपरि पनि मनलाई नियन्त्रण गर्नुपर्छ भन्दै ज्ञान दिनेहरूको कमी छैन । तर, मन कसरी नियन्त्रणमा आउँछ ? अनि मनलाई कसले या कुन तत्वले नियन्त्रण गर्छ भन्ने प्रश्नको जवाफ सजिलो छैन । संसारका असंख्य मनोवैज्ञानिकले यो विषयको शोध र अनुसन्धानमा जीवन खर्चिएका छन् ।

समय दिनप्रतिदिन कठिन बन्दै गएको छ । स्वास्थ्यमा जोखिम बढिरहेको छ । मानिसको मानसिक अवस्था पनि डरलाग्दो हुँदै आएको छ । अर्थतन्त्रको अनिश्चितता बढ्दो छ । उत्पादकत्वमा ह्रास आइरहेको छ । खाद्य पदार्थमा रासायनिक तत्वको उच्च प्रयोग बढिरहेको छ । निरन्तर विद्युतीय उपकरणले मानव स्वास्थ्यमा डरलाग्दा समस्या सिर्जना गरिरहेको
छ । अत्यावश्यक तर नजानिंदो नकारात्मक असर गर्ने उपकरणहरूले हाम्रो भावनात्मक समस्यालाई गाँजिरहेको छ – यस्तो अवस्थामा वास्तुशास्त्रको अवलम्बन एउटा सकारात्मक अस्त्रका रूपमा लिन सकिन्छ । आफू वरिपरिको वातावरण सकारात्मक बनाउँदा मात्र पनि धेरै कुराले हाम्रो मानसिक स्वास्थ्यसँगै अन्य नकारात्मक ऊर्जालाई सकारात्मक बनाउँछ ।

परापूर्वकालदेखि प्रचलनमा रहेको तर आधुनिक समाजले कम वास्ता गरेको वास्तुशास्त्र बदलिंदो शहरिया जीवनमा अपरिहार्य बनेको छ । न्यूनतम क्षेत्रमा अधिकतम मानवीय चापबाट विक्षिप्त मानव समाजलाई वास्तुशास्त्रीय भौतिक व्यवस्थापनले तत्कालै राहत दिन थाल्छ । वास्तुशास्त्रीय व्यवस्थापनलाई अवलम्बन गर्दा घर, कार्यालयसँगै मनस्थितिमा सकारात्मकता ल्याउँछ । यसै सन्दर्भमा केही चर्चा गरौं ।

प्रचलित चार दिशाहरूसँगै वास्तुशास्त्रले थप चार दिशालाई पनि महत्व दिन्छ । पूर्व, पश्चिम, उत्तर, दक्षिणसँगै पूर्वोत्तर अर्थात् इशान, पूर्व-दक्षिण आग्नेय, दक्षिण-पश्चिम नैऋत्य र उत्तर-पश्चिम वायव्य । प्राचीन वास्तुशास्त्रमा यी आठै दिशालाई बराबर महत्व दिइएको छ । यी सबै दिशामा भएका वास्तुदोषले फरक-फरक क्षेत्रमा नकारात्मक असर गरिरहेको हुन्छ । खासमा मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण मानसिक दोष हो । मानसिक समस्या छ भने स्वास्थ्य, आर्थिक या अन्य विविध समस्या सिर्जना गर्छ ।

इशान

मानसिक स्वास्थ्यमा पूर्वोत्तर अर्थात् इशान कोणको वास्तुदोषले प्रत्यक्ष भूमिका खेलेको हुन्छ । यो क्षेत्रमा वास्तुदोष रहेछ भने त्यस घरमा बस्ने मानिसको मनमा विविध किसिमका तनावपूर्ण अवस्थाले घेरा हाल्छ । रोगका कारण सिंगो परिवारको मानसिक अवस्था विचलित हुन्छ । यो जल तत्वको क्षेत्र हो । जल हाम्रो जीवनमा सबैभन्दा महत्वपूर्ण अंश हुन्छ तसर्थ यस क्षेत्रको वास्तु दोषले हाम्रो शरीरको जलतत्व प्रभावित हुन्छ ।

पूर्व

पूर्व हाम्रो जीवनको उन्नति र प्रगतिको दिशा हो । यस क्षेत्रमा वास्तुदोष हुनुहुँदैन । मानिसको जीवनमा हरेक क्षेत्रबाट केही न केही उन्नति र प्रगति चाहिन्छ । जीवनमा तमाम क्षेत्रमध्ये सबैतिरबाट अवनति भयो भने मानिसले हार मान्न थाल्छ । हारेको मानिस केही समयपछि बाँच्न पनि चाहँदैन । सबैतिरबाट हारिनुहुँदैन । कतै न कतैबाट उसको सकारात्मक प्रगति हुनैपर्छ । जसले जीवनमा आशा जगाउँछ र मानिस सक्रिय रहन्छ ।
तसर्थ पूर्वमा भएको वास्तुदोषलाई तत्काल सुधार गरिहाल्नुपर्छ । उन्नति र प्रगति केवल धन-सम्पत्ति मात्र होइन । मानिस सामाजिक प्राणी भएकोले सामाजिक, शैक्षिक, मानसिक, आर्थिक क्षेत्र, स्वास्थ्य, सन्तान, राजनीति, व्यवसाय लगायत सबैतर्फको उन्नति प्रगतिलाई आकलन गरिनुपर्छ ।

यदि सबै क्षेत्रका प्रगतिमा बाधा आइरहेको छ भने पूर्वमा वास्तु दोष छ र यसलाई तत्काल सुधार या उपचार गरी सकारात्मक बनाउनुपर्छ ।

आग्नेय

आधुनिक समाज यही क्षेत्रबाट सबैभन्दा बढी प्रभावित छ । किनभने यो क्षेत्र मानिसको धन सम्पत्ति, हिम्मत, आँट साहस तथा विविध सम्बन्धहरूसँग जोडिएको हुन्छ । यो क्षेत्रमा वास्तुदोष छ भने धनागमनमा समस्या आउँछ । मानिसमा ऊर्जाको कमी देखिन्छ । उत्साहमा कमी हुन्छ । भएका सम्बन्ध बिग्रन्छन् भने आफन्तहरू टाढिंदै जान्छन् ।

भएका सम्बन्धमा कमी आयो र आत्मविश्वास घट्दै गयो भने यो क्षेत्रमा वास्तुदोष छ । यसलाई तत्काल निराकरण गरिनुपर्छ अन्यथा धन, ऊर्जा, उत्साह र सम्बन्ध विनाको डरलाग्दो अवस्था आउन थाल्छ । वास्तुशास्त्रमा यसको विभिन्न उपायबाट निराकरण गर्ने विधि छ ।

दक्षिण

मानिस सामाजिक प्राणी हो । मानिसका गतिविधिलाई समाजले नियालिरहेको हुन्छ । शरीर स्वस्थ छ, मानसिक अवस्था राम्रो छ, आफूलाई प्रगति गरे जस्तो पनि लाग्छ, धन पनि छ- यी सबै कुरा हुँदाहुँदै पनि मानिस सन्तुष्ट हुन सक्दैन । उसलाई समाजले सम्मान गरोस् भन्ने भावना आइरहेको हुन्छ । सामाजिक या पारिवारिक मान-मर्यादा र सम्मान हरेक मानिसको आवश्यकता हो ।

यो क्षेत्रको सकारात्मक ऊर्जाले मात्र व्यक्तिलाई मानसम्मान प्राप्त हुन्छ । यश र कीर्ति फैलिन्छ । यदि यहाँ वास्तुदोष छ भने सबै कुरा भएर पनि मानिसले अपजस मात्र पाउँछ । यदि जीवनमा आफूले प्राप्त गरेको सफलताले यश दिइरहेको छैन भने दक्षिण क्षेत्रको वास्तुदोषलाई सुधार गरिनुपर्छ । यस क्षेत्रको वास्तुदोषलाई सही किसिमले समाधान गरिनु जरूरी छ ।

नैऋत्य

यो निकै रहस्यात्मक क्षेत्र हो । अत्यधिक भारी क्षेत्र मानिने यो कोणले मानिसलाई प्रकृतिमाथि पनि विजय हासिल गर्दै मानवीय जीवन सहज बनाइरहेको छ । यो हाम्रो सीप क्षमताको क्षेत्र हो । मानिस दिनप्रतिदिन नयाँ-नयाँ आविष्कार गरिरहेको छ । जीवन सहज बनाउन नयाँ-नयाँ सीपको प्रयोग भइरहेको छ । प्रविधिको प्रयोग भइरहेको छ ।

मानिसले सीपको विकास गर्न सकेकै कारण प्राणीहरूमा उत्कृष्ट बन्न सकेको छ । नैऋत्य समग्र सफलताको दिशा हो । यहाँ या यस क्षेत्रमा वास्तुदोष छ भने अनावश्यक खर्चमा वृद्धि हुन थाल्छ । बचत शून्य बन्दै जान्छ । सीप र सफलतामा समस्या आउन थाल्छ । तसर्थ समयमै यस क्षेत्रलाई वास्तुदोष मुक्त बनाउनु जरूरी छ ।

पश्चिम

पश्चिम दिशालाई साँझको समयका रूपमा लिइन्छ । यो दिशा दिनभर काम गरेर उपलब्धि सहित घर र्फकने समय हो । समय अनुसार घरको पश्चिम पनि उपलब्धिको दिशा हो । कर्म गरेपछि त्यसबाट केही न केही प्राप्ति आवश्यक हुन्छ ।

दिनभर कर्म गरेपछि त्यसबाट एउटा सन्तुष्टि र प्राप्ति हरेक मानिसको चाहना हो । यसै अनुरूप पश्चिम दिशाको वास्तु बिगि्रएको छ भने आफूले गरेका कामको उपलब्धि नमिल्ने समस्या आइरहन्छ । यसका लागि हरेकले आफ्नो पश्चिम दिशाको वास्तुदोषलाई तत्काल समाधान गर्नुपर्छ ।

वायव्य

पश्चिमोत्तर साथ-सहयोगको दिशा हो । यो दिशामा भावना जोडिएको हुन्छ । सकारात्मक भावका साथ हुने साथ-सहयोग यसै दिशाबाट हेर्ने गरिन्छ । व्यक्तिलाई आफन्त या भरोसा गरिएकाहरूबाट साथ-सहयोग छ-छैन भन्ने अनुमान यहाँको वास्तुको अवस्थाले तय गर्छ ।
हरेक मानिसलाई आफू वरिपरिको वातावरण र व्यक्तिबाट सकारात्मक सहयोग अनिवार्य हुन्छ । यस क्षेत्रको वास्तुदोषले मानिसलाई साथ-सहयोग मिल्दैन । साथ र सहयोग नहुने हो भने व्यक्तिको भावमा पनि विरक्ति आउन थाल्छ । दिक्क लाग्न थाल्छ । यसले मानिसमा आकर्षण भाव कम हुन जान्छ । आफूलाई सकारात्मक साथ-सहयोग छैन भने उसमा पनि सकारात्मक भाव हराउन थाल्छ । तसर्थ वास्तुशास्त्रीय विधिबाट यस क्षेत्रको उचित उपचार गरी वास्तुदोषको समाधान गर्नुपर्छ ।

उत्तर

आर्थिक उन्नति, प्रगति, उत्साह, साथ-सहयोग, स्वस्थ जीवन, सकारात्मक पारिवारिक जीवन, सामाजिक सम्बन्ध यी सबै क्षेत्र सकारात्मक बन्न मानिसलाई उचित अवसर चाहिन्छ । विभिन्न अवसरहरूको मूल स्रोत उत्तर दिशा हो । सकारात्मक अवसरहरू आएनन् भने मानिसले जीवनमा सोचे जस्तो सफलता पाउन सक्दैन । वास्तुशास्त्रीय मान्यता अनुसार उत्तर दिशाले हामीलाई अवसर प्रदान गर्छ ।

यस क्षेत्रमा भएको वास्तुदोषले अवसरहरू बन्द हुन थाल्छन् । मानिस बेरोजगार बन्न थाल्छ । भएको सीप पनि प्रयोग गर्ने कुनै ठाउँ पाउँदैन । क्षमता भएर पनि अवसरविहीन भएका मानिसको उत्तर दिशामा वास्तुदोष हुनसक्छ । सकारात्मक अवसरहरूबाट वञ्चित हुनुपरेको छ भने तत्काल वास्तु परामर्श लिई सम्बन्धित क्षेत्रको वास्तुदोषको उपचार गर्नुपर्छ ।

समग्रमा आठै दिशाको सकारात्मक ऊर्जा उपलब्ध हुनुपर्छ भन्ने वास्तुशास्त्रको मान्यता हो । संभव भएसम्म सबै दिशाको व्यवस्थापन गर्नुपर्छ । बढ्दो शहरिया जीवनशैलीले गर्दा स्थानाभावका कारण परम्परागत शैलीबाट मात्र समग्र वास्तु व्यवस्थापन अलि कठिन छ । तर विभिन्न रंगरोगन, त्यहाँ राखिने र राखिएका सामग्रीको व्यवस्थापनबाट ऊर्जा सकारात्मक बनाउन सकिन्छ ।

त्यतिले पुगेन भने विभिन्न धातु तथा पिरामिडको प्रयोगबाट सानै ठाउँमा पनि वास्तुको सकारात्मक ऊर्जा व्यवस्थापन गर्न सकिन्छ । सामान्य वास्तु व्यवस्थापनमा वास्ता नगर्दा जीवनभरको श्रम र मिहिनेतले बनाएको घरले साँच्चिकै खुशी नदिन सक्छ । समस्या छ भने उचित वास्तु परामर्शबाट घरलाई ऊर्जामय बनाउनमा ध्यान दिनुपर्छ ।

(लेखक दक्षिण एशियाली ज्योतिष महासंघका सहमहासचिव हुन् ।)

अनलाइनखबरबाट