Breaking News

काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि महानगर आफैले परीक्षा लिने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि महानगर आफैले परीक्षा लिने भएको छ । महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा महानगरले नै सञ्चालन गर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्र्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि महानगर आफैले सञ्चालन गर्ने तयारी गरेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।

उनका अनुसार उक्त परीक्षा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र र आदिवासी जनजातिलगायत क्षेत्रबाट भएको छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्तिको परीक्षा लिने र छनोटमा परेकालाई वितरण गरिने छ । यो छात्रवृत्ति कक्षा ११ का लागि मात्रै हो, कक्षा १ देखि माध्यमिक तहसम्मका लागि पनि कामपा आफैले परीक्षा सञ्चालन गरेर योग्य विद्यार्थी छनोट गर्ने तयारीमा छ ।

छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिने र त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

महानगरले पटक–पटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् । हाल कामपामा ५०४ निजी विद्यालय सञ्चालनमा रहेकामा तीमध्ये ९० प्रतिशत विद्यालयले छात्राबृत्तिका लागि विद्यार्थीको नाम पेस गरिसकेका छन् । प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।

महानगरले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएको थियो । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० मा भएको व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदा हुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले नियमअनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको नाम नै सार्वजनिक गरेपछि निजी विद्यालय विवरण लिएर आएका हुन् । हाल कामपामा ५०४ निजी तथा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छ ।