Breaking News

मुग्लिन/नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम रोकिएन यात्रुहरुलाई सास्ती

१५ असार, काठमाडौं । बर्षा लागेसँगै झरि पर्न थालेको पछि देशैभरमा बाढी र पहिरोले क्षति पुर्याउन थालेको छ । लगातारको झरिले मुग्लिन/नारायणगढ सडकखण्डको माथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन । आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।

मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण हिजो दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ ।

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको त्यहाँ उस्थित प्रहरीले बताएको छ । हिजोदेखि नै जाममा परेका सवारी साधनको लामो लाइन लागेको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो साढे १ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ ।

काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।