Breaking News

प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान : पक्षमा १४७ बिपक्षमा १०८ मत

१३ असार, काठमाडौं । आज बसेको प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए ।

प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

सत्तारुढ दलसँग बहुमत रहेको विश्वासका आधारमा मत विभाजन माग नगर्ने अभ्यास विगतमा रहेको थियो ।
‘बहुमत नभएको सरकारले बजेट ल्याउँदैन भन्ने मान्यताका आधारमा मत विभाजनको माग गरिँदैनथ्यो’, तर, ‘विपक्षी दलले मत विभाजन नमागेको भएपनि हुन्थ्यो । तर, मत विभाजन माग गर्ने सांसदको अधिकार हो ।’

सभामुख देवराज घिमिरेले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरेका बेला एमाले सचेतक महेशकुमार बर्तौलाले मत विभाजन माग गरेका थिए । उनले प्रतिनिधिसभामा हुन्छ भन्ने (बजेट पारितको पक्षमा रहेका) भन्दा हुन्न भन्ने (बजेट पारितको विपक्षमा रहेका) सांसदको संख्या बढी छ भन्ने आफूहरुलाई लागेको भन्दै मतविभाजन माग गरेका थिए ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई विभाजन गरी मत संकलन गर्नुपर्ने भनिएको छ ।

यही व्यवस्था अनुसार ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लवि) मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर विनियोजन विधेयकका विषयमा सदनले निर्णय लिएको हो ।

नेकपा एमालेका संसदीय दलका उपनेता, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ विनियोजन विधेयकमाथि मतदान हुनुलाई स्वभाविक र सामान्य रुपमा लिनुपर्ने बताउँछन् । ‘सामान्यतया बजेटमा मत विभाजन मागिँदैनथ्यो । यसपटक माग्ने काम भयो’, उनले भने, ‘यो डेमोक्रेटिक अभ्यास हो । यसलाई यही रुपमा लिनुपर्छ ।