Breaking News

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ‘नबिल डिबेन्चर २०८७’ ऋणपत्र जारी

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ‘नबिल डिबेन्चर २०८७’ ऋणपत्र जारी गर्ने भएको छ ।

ऋणपत्र निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको छ भने नेपाल राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेको छ ।

बैंकले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ । बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

ऋणपत्र निष्काशनका लागि समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरू विनयकुमार रेग्मी र मनोज ज्ञवालीका साथै दुवै संस्थाका वित्त प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा ऋणपत्र निष्कासनले सहयोग पुर्याउने छ ।