Breaking News

प्रतिनिधिसभाको बैठक बस्दै आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । यसबारे एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने भएको हो ।