युरोपा लिग च्याम्पियनको उपाधि सेभियालाई

स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ।

बुधबार राति भएको फाइनल भिडन्तमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो।

सर्वाधिक युरोपा लिग जित्ने कीर्तिमान बनाएको सेभियाको यो सातौं उपाधि हो।

बुडापेस्टको पुस्कास एरिनामा रोमालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेभियाले कीर्तिमानी सातौं युरोपा लिग उपाधि जितेको हो। रोमाका लागि रोजर इबानेज र म्यानसिनी पेनाल्टी मिस गरेका थिए।

१-१ गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो।

खेलको ३४ मिनेटमा डिबालाको गोलबाट रोमाले अग्रता लिएको थियो। तर मान्सिनीले ५५ मिनेटमा आत्मघाती गोल गरेपछि सेभियाले खेल बराबरी गर्न सफल भएको थियो।

ला लिगामा शीर्ष चार बाहिर रहेको सेभियाले अर्को सिजन च्याम्पियन्स लिगका लागि स्थान पक्का गरेको छ।

यता रोमाका प्रशिक्षक जोसे माउरिन्होले युरोपियन प्रतिस्पर्धाको फाइनलमा पुगेको पहिलो पटक उपाधि गुमाएका छन्।