आजको मौसम: देशका धेरै भागमा बदली भई वर्षा भइरहने

हाल देशमा पश्चिमी वायु स्थानीय वायुको सामान्य प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागको मौसम बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

त्यस्तै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको उनले बताएकी छन्।

काठमाडौं उपत्यकामा पनि मध्याह्न र अपराह्न छिटफुट वर्षााको सम्भावना छ। ‘मौसम बदली हुने, पानी पर्ने र रोकिने क्रम चलिरहन्छ,’ उनले मौसमविद् कँडेलले भनिन्।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित  क्षणिक वा हल्का वर्षाको  सम्भावना छ।

मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बँच्न  सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।