देउवाले ‘लुट मच्चाएको‘ र ‘राष्ट्र डुबाएका हुन

महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दुई शीर्ष नेताविरुद्ध आक्रोश पोखेका छन् ।

सोमबार बिहानै सामाजिक सञ्जालमार्फत नेता पोखरेलले माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रमशः ‘लुट मच्चाएको‘ र ‘राष्ट्र डुबाएको’ भन्दै आक्रोश पोखेका हुन् ।

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रश्न गर्दै नेता पोखरेलले भनेका छन्, ‘कहाँ चुकेको छ सरकार ? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नुपर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबालीकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन ।’

उनले ‘पपुलिस्ट पोलिटिक्स’ गर्नेहरू र छोएरै उपचार गर्छु भन्नेहरू एकै भएको पनि टिप्पणी गरेका छन् । एमालेले सरकारको नीति तथा कार्यक्रमलाई ‘गतिविहीन दस्तावेज’ भन्दै त्यसलाई खारेजै वा पुनःलेखन गर्नुपर्ने मत राखेको छ । जसमा रास्वपालगायत विपक्षी दलले खासै समर्थन गरेको देखिन्न ।

यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छाड्नु नहुने उनको भनाइ छ ।