नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै

८ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ । झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

उनीहरुमध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिनेछ ।

एसएसपी कार्कीका अनुसार प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाउँदैछ ।

यस घटनामा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) मा मुद्दा चलाउन प्रहरीले सिफारिस गर्नेछ ।

‘आरोपीहरुविरुद्ध ठगी, कीर्ते र संगठित अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस गरिनेछ’,भने, ‘केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिनेछ ।