नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन नबुझाउने

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन नबुझाउने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको दुई महिना लामो अनुसन्धान आइतबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन तयारी गरेको थियो। तर साढे ५ बजेतिर प्रहरीले सरकारी वकिललाई ल्याउन नभ्याउने बताएको हो।

प्रहरीले प्रतिवेदन ल्याउन नभ्याउने बताएपछि आफूहरू पनि घर फर्किसकेको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

‘साढे ५ बजेतिर आज भ्याएन भनेर खबर गरेपछि हामी घर फर्कियौं,’ उनले भने।

प्रहरीले प्रतिवेदन भोलि बिहान १० बजे सम्म बुझाउने तयारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले पनि आज प्रतिवेदनको अन्तिम फाइल तयार नभएकाले नबुझाएको बताए।

‘फाइलहरू टाइप गर्नुपर्ने बाँकी नै छन्। लामो अनुसन्धान भएकाले पनि भ्याएन। रातभरीमा सकाएर भोलि बिहानसम्म बुझाउने तयारी छ,’ उनले भने,‘कुनकुन शीर्षक आकर्षित गर्ने भनेर पनि छलफल भएकाले हो।’

यस्तै आइतबार मात्रै थप पाँच जनाले आङटावा शेर्पाविरूद्ध जाहेरी दिएको पनि उनले बताए।

योसँगै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीको संख्या १२५ पुगेको छ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। यसप्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।