हाइटेन्सन लाइन प्रसारण भएको पोलमा चढेका युवा ११ घण्टापछि पोलबाट ओर्लिए

विराटनगर । निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रसारण भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले उठाएका मागका विषयमा छलफल भइरहेको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए ।

दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरे पनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट बिद्युत् दौडिरहेको पोलमा उनी ११ घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने लामो प्रयास सफल भएको बताए । बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका कारण उनलाई जबरजस्ती ओह्राल्न चुनौती थियो ।

उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका थिए । गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका कारण लामो समय माझी पोलमै बसेका थिए । अध्यक्ष र उपाध्यक्ष धनकुटाबाट फर्केर सिधै घटनास्थलमा पुगेर माग सम्बोधन गरेपछि उनी पोलबाट ओर्लिएका थिए ।