सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

२० वैशाख, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । लगत्तै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो ।

अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।

‘पक्राउ पूर्जी जारी भएको थाहा भएपछि उहाँ जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर हुनुभएको हो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयान लिने क्रममा रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।

शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सह–सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको
थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागि परेको थियो ।