एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर लैजाने प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन ऊर्जामन्त्रीसमेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा उनीहरुविरुद्ध काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी लिएको हो ।

यसअघि यसै प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका थिए । गृहमन्त्रालयका पूर्वसचिवसमेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् ।

प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राईमाथि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भए, उनकै जोडबलमा पाण्डेलाई गृह सचिव बनाइएको थियो । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।