विषालु सर्प खेलाउने क्रममा एक जनाको मृत्यु

हेटौंडामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ।

आइतबार हेटौंडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार कँडेलले घरनजिकै रहेको जंगलबाट आफैंले  सर्प ल्याएका थिए।

उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औंलामा टोक्यो। उनी गम्भीर बिरामी भई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक कार्कीले जानकारी दिए।

कँडेलले कहिलेदेखि सर्प घरमा ल्याएका थिए र उक्त सर्प कुन जातको थियो भन्नेबारे खुल्न सकेको छैन ।