गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त

१४ वैशाख, पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन् ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते प्रदेशसभामा परीक्षण गर्दा विश्वासको मत पाउन सकेनन् ।

संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो । कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गरेका थिए ।