Breaking News

तनहुँ–१ मा मतगणना जारी : स्वर्णिम वाग्लेको फराकिलो अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको उपचुनावअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गोविन्द भट्टराईले वाग्लेलाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । रास्वपाका वाग्लेले पाएको मतको प्याटन अनुसार एमाले र माओवादी केन्द्रको अधिकांश मत बटुलेको अवस्था छ । गठबन्धनको मत नपाएका भट्टराईले कांग्रेसको मत समेत जोगाउन नसकेको देखिन्छ ।

माओवादी केन्द्रका प्रभाव क्षेत्र आबुखैरेनीमा वाग्लेले ४ हजार ४ सय ४८ मत पाएका छन् । कांग्रेस उम्मेदवार भट्टराईले १ हजार ६ सय ५८ मत मात्र पाए । यस्तै एमाले उम्मेदवार खनालले जम्मा ५९६ मत ल्याए ।

गत स्थानीय तहको निर्वाचनमा आबुखैरेनीमा माओवादी केन्द्रका शुक्र चुमान ३ हजार ९४० मत ल्याएर विजयी भएका
थिए । कांग्रेसका गिरबहादुर थापा २ हजार २३० मत ल्याएर दोस्रो हुँदा एमालेका ऋषि केसीले १८०४ मत पाएका थिए ।

आबुखैरेनीमा कांग्रेसले ५ सय ४५ मत गुमाएको छ भने एमालेको १२ सय मत पनि वाग्लेतिर खनिएको देखिन्छ । माओवादीको ३ हजार ९४० मतको हिसाब पनि गोलमाल छ ।

तनहुँ– १ माओवादी केन्द्रको उम्मेदवार नभएकाले अधिकांश मत वाग्लेले पाएको देखिन्छ । माओवादीको समर्थन भट्टराई भएपनि मत भने पाउन सकेको देखिएन ।

माओवादी केन्द्रले ८ सय ६९ मत ल्याएर जितेको आबुखैरेनी गाउँपालिका– १ मा १४५८ मत मध्ये वाग्लेले १ हजार ६५ मत पाएका छन् । वडाध्यक्षमा कांग्रेसले ४१५ मत पाए पनि अहिले भट्टराईले २७६ मत मात्र पाए भने ३३१ मत ल्याएको एमालेले अहिले ५४ मत मात्र पायो ।

वडा नम्बर १ मा कांग्रेसले ३४ प्रतिशत मत लुज गर्दा एमालेले १६ प्रतिशत मात्र मत जोगाउन सकेको देखिन्छ । यद्यपि स्थानीय तह निर्वाचनमा एमाले र गोविन्दराज जोशी समूहको तालमेल थियो । अहिले जोशी समूहले वाग्लेलाई समर्थन गरेकाले एमालेका खनालले न्यून मत पाएको पनि हुन सक्छ ।माओवादीको सबै जसो मत वाग्लेलाई ओइरिएको बुझ्न गाह्रो छैन ।

माओवादी केन्द्रले जितेको आबुखैरेनी २ मा १३९२ मतमा वाग्लेले ८८१ मत पाउँदा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानको वडामा गठबन्धनका उम्मेदवार भट्टराईले ३३६ मत मात्र पाए । तर २ नम्बरमा माओवादीको ६६७ र कांग्रेसका ४९५ मत थियो । एमालेको समर्थनमा जोशी समूहले ३०५ मत पाएको थियो । अहिले एमालेले १०८ मत पाएको छ ।

कांग्रेसले वडाध्यक्ष जितेको आबुखैरेनी– ३ मा २१७३ मत मध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् । कांग्रेसका वडाध्यक्षले १ हजार ८ मत पाएकोमा अहिले भट्टराईले जम्मा ४०१ मत मात्र पाए भने एमालेका खनालले १९१ मत ल्याएका छन्। कांग्रेसले आफ्नो प्रभाव वडामा समेत मत जोगाउन सकेको देखिँदैन । माओवादी केन्द्रका विमल बाबु रानाले ६ सय ५ मत र एमालेका पूर्णबहादुर आलेले ४ सय ४९ मत प्राप्त गरेका थिए।

आबुखैरेनी – ४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।

आबुखैरेनीको – ४ मा कांग्रेसले ४ सय ३३ मत ल्याएर जितेको थियो भने माओवादी केन्द्रको २ सय १९ मत थियो । जोशी समूहको समर्थनमा एमालेले १ सय ७६ मत पाएका थिए।

आबुखैरेनी–५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्। स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले २ सय ८८ मत जित्दा २८० मत ल्याएर एमाले दोस्रो स्थानमा थियो । वडाध्यक्षमा २ सय ६९ पाएको कांग्रेसले अहिले माओवादीको साथ पाउँदा पनि भट्टराईले जम्मा १४९ मात्र पाए ।

एमाले २९० मत ल्याएर जितेको आबुखैरेनी – ६ मा अहिले एमाले उम्मेदवार खनाल तेस्रो स्थानको मत पाए । ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्। माओवादी केन्द्र ३ सय ८७ र कांग्रेसको २ सय ८७ मत थियो ।