सीमा क्षेत्रका सेना तत्काल पठाउन सांसदको माग

२९ बैशाख, काठमाडौं । भारतले अतिक्रमण गरेको सीमा क्षेत्रमा सुरक्षाका लागि सेना पठाउन सांसदहरुले माग गरेका छन् । हिजो सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे । अतिक्रमण गरिएको क्षेत्रमा सीमा सुरक्षाका लागि सेना पठाइहाल्नुपर्छ । विगतका सरकारले कुटनीतिज्ञले के–के गल्ति गरे त्यसको पनि खोजविन हुनुपर्छ । अहिलेको सरकार र विगतका सरकारका बीचमा दोषारोपण गर्ने भन्दा पनि समस्या समाधान गर्न लाग्नुपर्छ ।
सांसद चाँदतारा कुमारीले पनि सीमामा सेना पठाउन र कुटनीतिक तरिकाले भारतसँग वार्ता गर्न माग गरिन् । अर्का सांसद उमा रेग्मीले ७ महिना अघि भारतले नक्सा सार्वजनिक गर्दा नेपालको भूमिसहित नेपालको पनि नक्सा सार्वजनिक गर्न समितिले सरकारलाई निर्देशन दिँदा सरकारले कार्यान्वयन गर्दैन भने छलफलको के औचित्य भन्दै प्रश्न गरिन् ।
सरकार ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ’ भन्ने तरिकाले अघि बढेको उनले आरोप लगाइन् । मिनि संसदले गरेको निर्णय किन सरकारले पालना गरिरहेको छैन भन्दै सांसद रेग्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न समेत गरिन् ।
उनले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको भूमि भारतको भनेको के हो त्यसबारे जवाफ दिन माग गरिन् । नक्सा प्रकाशन गर्न प्राविधिक समस्या पर्यो भनिएको छ के हो त्यस्तो समस्या स्पष्ट पार्न पनि उनको माग थियो । कोरोना संक्रमणपछि भारतले कुटनीतिक छलफल गर्ने भनेर अलमल्याउन खोजेको र विगतमा गरेको गल्तिबाट पाठ सिक्न आग्रह गरिन् । उनले सीमा मिचिएको बारे प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गर्दै यो कुनै दल र सरकारको मात्र समस्या नभइ देशको समस्या भएको उल्लेख गरिन् ।
तत्काल विज्ञ टोली पठाउन भीम रावलको माग
बैठकमा बोल्दै सांसद भीम रावलले विगतकाले हिजो गरेनन् भनेर आजको दायित्वबाट पन्छिन नपाइने भन्दै संसदले दिएको निर्देशन पनि सरकारले कार्यान्वयन नगरेको बताए । उनले सीमा विवादबारे राज्यका निर्देशक समितिले कति पटक निर्देशन दियो कति पटक कार्यान्वयन भयो ? भन्दै प्रश्न गरे ।

उनले भारतको अतिक्रमणबारे परराष्ट्र मन्त्रालयले हस्ताक्षर विनाको बेवारिसे बक्तव्य निकालेको भन्दै अन्तर्रा्ष्ट्रिय प्रचलन अनुसार यस्तो विषयमा देशले आफ्ना प्रवक्तलाई सशरीर उभ्याएर खण्डन गर्ने बताए । उनले कतिपय गर्नुपर्ने साना कामको गलत ब्याख्या गरेर कोही पनि उम्किन नसक्ने बताउँदै वक्तव्य हस्ताक्षर सहित र प्रवक्ता मार्फत खण्डन गर्नुपर्नेमा जोड दिए । उनले भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु दुई देशको असल छिमेकीको सम्बन्ध विपरित, अन्तर्रा्ष्ट्रिय कानून विपरित रहेको भन्दै आपत्ति प्रकट गरे ।
उनले दार्चुलाको सबैभन्दा धेरै जमिन अतिक्रमण भएको बताउँदै नेपाली सिमानामा भारतले ४५ हजार सुरक्षाकर्मी परिचालन गरेको उल्लेख गरे । उनले तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन माग गर्नुका साथै नेपालको नक्सा प्रकाशन गर्न पनि माग गरे ।
हामी सैन्य शक्तिमा कमजोर छौं होला तर हामी सार्वभौमरुपमा कमजोर छैनौँ । उसले हाम्रो भूमि समेटेर नक्सा प्रकाशन गर्ने तर हामी त्यो क्षेत्रमा पनि नपुग्ने र नक्सा पनि किन प्रकाशन गर्न नसक्ने ? यो विषय सबै नेपालीको साझा विषय विषय हो । हामी भारत विरोधी पनि छैनौँ, चीन विरोधी पनि हैनौं, हामी नेपाली पक्षधर हौं । हामीले त्यहाँ तत्काल विज्ञ टोली पठाऔं । उनले दिल्लीमा रहेको राजदूतलाई अह्रराएर केही काम नहुने भन्दै स्थलगत रुपमा के छ नेपाल सरकारले किन नहेर्ने भन्दै प्रश्न गरे ।
एकचोटी हल्ला गर्ने अनि सामसुम गर्ने काम नगरेर तत्काल नेपालको नक्सा प्रकाशन गर्दै भारत सरकारसँग छलफल गर्न माग गरे ।
समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल उपस्थित भएका थिए । रातोपाटीबाट