काठमाडौँ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा आज भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको छ । तीन क्षेत्रको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो ।
बारा २, चितवन २ र तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ५३ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।
मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ । आयोग अनुसार यही वैशाख १२ गतेभित्र मत परिणाम सार्वजनिक गर्ने गरी मतगणना हुने छ ।