सुर्खेत । कर्णाली प्रदेशमा हिजो मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ । यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने काँग्रेसले निर्णय गरेको हो ।
सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
प्रदेशसभामा १४ सिटसहित पहिलो दल रहेको कांग्रेसले अबको अढाई वर्षपछि मात्रै सरकारको नेतृत्व पाउने र अहिले माओवादी नेतृत्वकै सरकारमा सहभागिता जनाउने भएको हो ।