काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो । केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिकसत्रमा सुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छनोट भएका छापाखानालाई आग्रह गरिएको बताउनुभयो । सोको अनुगमन स्थानीय तहबाट हुनेछ । निजी विद्यालयको शुल्क निर्धारण पनि स्थानीय तहबाट हुनेछ ।