काठमाडौं । प्रहरीले रौतहटको गढिमाईबाट १६ जनालाई पक्राउ गरेको छ । शनिबार बाटो विस्तार गर्ने क्रममा गढीमाई नगरपालिका–८ धोबिनियामा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो ।
सो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत पक्राउ परेका छन् ।
उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका छन् । एकजनाको मृत्यु र चारजना घाइते हुनेगरी भएको गोली काण्डपछि धोविनियामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
धोबिनियास्थित साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले चौडा गर्ने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ ।
बाटो विस्तार गर्ने क्रममा सडक वारिपारीका रामइश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो । दुबै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विगत केही दिनदेखि विवाद गर्दै आएका थिए ।