अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु

अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ।

साँफेबगर नगरपालिका–१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको बताए। आफन्तहरू घटनास्थलमा पुगेपछि उनको शव उठाइने छ।

प्रहरीका अनुसार उनी मंगलबार राति स्कुटर दुर्घटनामा परेका हुन्। उक्त ठाउँमा यसअघि पनि सवारी दुर्घटना भइसकेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।