बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ

काठमाडौं । बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन् । गिरीलाई प्रहरीले आज दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ । पछिल्लो समय गिरी न्याय परिषदमा कार्यरत थिए । यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए । गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानिएको थियो । न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिईन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएनन् ।

पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिईन् । न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन् ।