बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो ।
नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ । स्वदेश फर्किनेको सङ्ख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको र सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको जोशीले बताए।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ । कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।
सङ्क्रमित भेटिएका भारतीय नागरिकलाई फिर्ता पठाइयो
सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ । नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरुषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ । उनले भने, “सङ्क्रमित मान्छे जात्रा सहभागी भएपछि त्यसले अन्य मानिसलाई पनि सङ्क्रमण सार्न सक्ने भएकाले नेपाल आउन नदिइएको हो ।”
भारतीय नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोरोना सङ्क्रमण देखिन थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४५ हजार छ सय ३४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय ४६ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।