काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आईओसीले पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ । सोहीअनुसार यस पटक पेट्रोलियम पर्दाथको मूल्य घटाएर पठाएको हो ।
नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ भने पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।
हाल नोपलमा बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको निगमले जनाएको छ ।
साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेत घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्याँसको बिक्री प्रतिसिलिन्डर १८८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।