सिख अभियन्ता अमृतपाल सिंह नेपालमा लुकेको आशङ्कामा खोजिकार्य

काठमाडौँ । भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिख अभियन्ता अमृतपाल सिंह नेपालमा लुकेको आशङ्का गरिएको छ । सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार गरेको छ । गृह मन्त्रालयमार्फत पत्र आएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए । भारतीय दूतावासले लेखेको पत्रमा अमृतपाल नेपाल आएको जिकिर गर्दै भनिएको छ– ‘भारतमा सन्दिग्ध व्यक्ति भएको हुनाले नेपालमा फेला परेमा जानकारी गराउनु हुन अनुरोध छ ।’

प्रहरी स्रोतका अनुसार सिंह नेपालगन्जमा लुकेर बसेको आशङ्का गरिएको छ । प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीले नेपालगन्जमा खोजी तीव्र बनाएका छन् । गृह मन्त्रालयका एक जना उच्च अधिकारी भन्छन्– ‘सुरक्षा निकायहरूले खाजी जारी राखेका छन्, नेपालगन्जमा लुकेको आशङ्का गरिएको छ ।’

अध्यागमन विभागले अमृतपाल सिंहको फोटो दूतावाससँग मागेको छ । अमृतपाल सिंह नेपाल आएकोबारे प्रहरीलाई जानकारी नभएको बताउँछन् प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेल । पोखरेल भन्छन्– ‘आएको थाहा पाएका छैनौँ तर, हामी सचेत छौँ ।’ भारतीय दूतावासले नेपाल सरकारलाई लेखेको पत्रमा अमृतवाल विरुद्ध भारतमा लुक आउट सर्कुलर जारी भएको भनिएको छ ।