पक्राउ परेका चिनियाँहरुले प्रहरी परिसरमै नाराबाजी मात्रै गरेनन्,कार्यालय परिसरमा सुतिदिए

१५ चैत, काठमाडौं । काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमध्ये ९ जना चिनियाँ नागरिक थिए ।

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरुलाई सञ्चारकर्मीमाँझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाए । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए ।

हत्कडीसहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुव्र्यवहार गर्न खोजेका थिए । चिनियाँ भाषामा बोलेकाले उनीहरुले के भने भन्ने त बुझिएन । तर, अन्तिममा एक जनाले ह्वाई (किन) भन्दै प्रश्न गरेको बुझिन्थ्यो ।

२०७७ को वैशाख अन्तिमतिर स्वदेश फिर्तीको माग राख्दै प्रदर्शन गर्ने क्रममा पुगेका प्रहरीलाई चिनियाँले हातपात गरेका थिए । पछि प्रहरीले कुटपिटमा संलग्न चार चिनियाँ नागरिकलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।

‘यसपालि पनि उनीहरुले आफूले केही नगरे जस्तो देखाएर सहानुभूति मात्रै बटुल्न खोजेका हुन्’, स्रोत भन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मनोज केसीका अनुसार ह्वाट्स एपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै यो गिरोहले नेपाली नागरिकलाई ठगेको पाइएको छ ।

ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी भएको भेटिएको उनले बताए । ‘पैसा हाले पश्चात सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ’, केसीले भने, ‘यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’

पीडितले एनआईसी एसिया बैंकमा राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ । थप अनुसन्धान जिल्ला प्रहरी परिसर, काठमाडौंबाट हुनेछ ।