१४ चैत, सप्तरी । सप्तरीको रुपनीस्थित पिपराहीमा रहेको जेएसआर इँटा भट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिम रहेका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मृतककी श्रीमती मुजिना र भारत पश्चिम बंगालकै जहरुल हक रहेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
मजदुरहरूले इँट्टा निकाल्ने क्रममा भट्टाको पूर्व पट्टीको पर्खाल भत्किएको थियो ।
पर्खालले थिचेका अजिमलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो । तर अस्पतालले अस्पताल आउनु अघि नै उनको मृत्यु भएको बताएको हो । घाइते दुवैको उपचार भइरहेको छ ।