Breaking News

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा कारागार पठाइएका ३ जना धरौटीमा रिहा

१४ चैत, काठमाडौं। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना हिजो मंगलबार रिहा भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का धरौटी बुझाएर रिहा भएका हुन् ।

७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।