अफगानिस्तानमा भूकम्प पाँच जनाको मृत्यु ५० जना घाइते

एजेन्सी

८ चैत, काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।

विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।

उत्तर प्रदेशको पश्चिमी क्षेत्रका साथै राजस्थानका जयपुर, सिकर, करौली लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतमा पनि भूकम्पको महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । तर त्यसले क्षति पुर्याए/नपुर्‍याएको यकिन भएको छैन ।