सिके राउतले १० दलीय सत्ता गठबन्धनको बैठकमा तीन माग

जनमत पार्टीका अध्यक्ष सिके राउतले १० दलीय सत्ता गठबन्धनको बैठकमा तीन माग राखेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा अध्यक्ष राउतले पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन माग राखेका हुन्।

मधेश आन्दोलनका शहीदहरूको नाम पनि राजपत्रमा प्रकाशित गर्नुपर्ने उनको माग छ।

मलको बढ्ने मूल्यलाई कम गर्न पहल गर्न पनि राउतले माग राखेका छन्।

त्यस्तै तेस्रोमा नागरिकता विधेयकमा तत्काल विवाद नहुने प्रावधानहरू मात्रै राखेर भएपनि टेलब गर्नुपर्ने माग राखेका हुन्।

‘नागरिकता विधेयकमा तत्काल विवाद नहुने प्रावधानहरू मात्रै राखेर भए पनि अविलम्ब टेबल‌ गरिनु पर्ने र जन्मसिद्धका सन्तानहरूले भोगी राखेको नागरिकता समस्या समाधान गर्नुपर्ने विषय जनमत पार्टीको तर्फबाट उठाएको छु,’ बैठकमा राखेका मागबारे सामाजिक सञ्जालमा लेखेका छन्।

उक्त बैठकले आइतबार प्रस्तुत गर्ने ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा पनि एकमतका साथ अघि बढ्ने र सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेमा सहमति पनि जनाउने निर्णय भएको हो।

सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी हुन्।